धादिङबाट हराइरहेका तीनै जना बालिकाहरु बाग्लुङमा भेटिएका छन् । जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीन जना बालिकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले खोजी गर्दा उनीहरु सोमबार बाग्लुङमा भेटिएका हुन् ।
रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुङलाई धादिङ र बाग्लुङ्ग प्रहरीले खोजी गरी उद्धार गर्न सफल भएको हो । अहिले उनीहरु जिल्ला प्रहरी कार्यालय बाग्लुङमा रहेका छन् । तीनै जना बालिकाहरु नीलकण्ठ नगरपालिका–३ मा परिवारसँग बस्दै आएका थिए ।
घटनाको अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका मकेन्द्र मिश्रले बताउनुभयो । अभिभावकहरुसँग कुराकानी भइ रहेको छ । बालिकाहरुलाई धादिङ ल्याउने तयारी पनि भइ रहेको उहाँले बताउनुभयो ।नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालय धादिङमा अध्ययनरत तीन जना बालिकाहरु गत बुधबारदेखि सम्पर्कविहीन भएका थिए ।
विद्यालय जाने भनेर निस्केका बालिकाहरु घर नफर्केपछि अभिभावकहरुले खोजी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङ पुगेर आफ्ना नानीहरु खोजी गरि दिन अनुरोध गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |