धादिङको ज्वालामुखी गाउँपालिकामा वि.पी स्मृती भवन बन्ने भएको छ । नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोईरालाको नाममा नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिका कार्य समितिले भवन बनाउन लागेको सभापती रेशमलाल काप्रीले जानकारी दिनुभयो । गाउँपालिकाको २० लाख रुपैयाँ र सहयोगीहरुसंग चन्दा उठाएर निर्माण गर्न लागेको भवनको आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो । नेपाली कांग्रेस धादिङका सभापती एवम् नेपाल सरकारका कृषि तथा पशुपन्छी वकिास मन्त्री रामनाथ अधिकारीले भवन शिलान्यास गर्नुभएको हो ।
भवन शिलान्यास समारोहलाई सम्वोधन गर्दै मन्त्री अधिकारीले नेपाली कांग्रेसका सबै कार्यकर्ताले महा मानव विपि कोइरालाको आदर्श र सिद्धान्तलाई पछ्याए मुलुक समृद्ध हुने बताउनुभयो । विपि कोइरालाकै नेतृत्वमा नेपालमा जहानिया शासनको अन्त्य भएको र नेपाली जनताले स्वतन्त्रतापूर्वक काँच्न पाउने अधिकार प्राप्त भएको स्मरण गर्दै मन्त्री अधिकारीले अहिले लोकतन्त्रको विरुद्धमा केहि मान्छेहरु सलबलाएको भन्दै लोकतन्त्रको विकल्प अरु व्यवस्था हुन नसक्ने बताउनु भयो । गाउँपालिकाको वडा नं. ६ सिमलगैरीमा निर्माण गर्न लागेको विपि स्मृती भवन निर्माणमा सक्दो सहयोग गर्ने बताउँदै मन्त्री अधिकारीले आदर्श व्यक्तिको नाममा निर्माण हुने भवनमा आर्थिक, भौतिक, नैतिक र शारीरिक सहयोग गर्न कांग्रेसका नेता तथा कार्यकर्तासंग आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस धादिङका प्रवक्ता एवम् भवन निर्माण समितिका संयोजक विनोदराज तिमल्सिना, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनै लगायतले समयमै भवन निर्माण कार्य सम्पन्न हुने र निर्माण कार्यमा ज्वालामुखीका कांग्रेस नेता तथा कार्यकर्ताले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली राजनीतिका शिखर पुरुष स्व. विश्वेश्वर प्रसाद कोइराला लोकतन्त्रका पहरेदार भएकाले आज लोकतन्त्र दिवसकै सन्दर्भ पारेका उहाँकै नामबाट बन्ने भवन शिलान्यास गरेको कांग्रेस धादिङका प्रवक्ता एवम् भवन निर्माण समितिका संयोजक तिमल्सिनाले बताउनु भयो । कार्यक्रममा कांग्रेस धादिङका नेता समेत रहनुभएका गाउँपालिका अध्यक्ष दनैले व्यक्तिगत रुपमा एकलाख ५१ हजार एकसय ५१ रुपैयाँ र तिमल्सिनाले २५ हजार पाँचसय ५५ रुपैयाँ आर्थिक सहयोग गर्ने पनि प्रतिवद्धता जनाउनु भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |