नेपाल तमू गुरुङ विद्यार्थी छोंज धींको २९ औं स्थापना दिवस आज देशैभर मनाईएको छ । दिसवकै अवसरमा नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङले शैक्षिक सामाग्री वितरण गरेकोे छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ अमरावतीमा अवस्थित स्वावलम्बी बहिरा आधारभूत विद्यालयमा अध्ययनरत बालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको नेपाल तमू(गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका अध्यक्ष रेखबहादुर गुरुङले बताउनुभयो ।
कार्य समिति सदस्यहरुबाट संकलन भएको लेबी रकम र ल्होसारको अवसरमा आयोजना गरिएको गुरुङ ड्रेस फोटो कन्टेस्टबाट भएको बचत रकमबाट विद्यालयलाई शैक्षिक सामाग्री उपलब्ध गराइएको अध्यक्ष गुरुङले बताउनुभयो । शैक्षिक सामाग्री ग्रहण गर्नुहुँदै विद्यालयका प्रधानध्यापक एवंम संस्थापक राम प्रसाद अधिकारीले नेपाल तमू गुरुङ विद्यार्थीलाई धन्यवाद् व्यक्त गर्नुभएको छ । सहयोग आवश्यकता परेको यस विद्यालयलाई सहयोग गरेको प्रति धन्यवाद् दिनुहुँदै अध्यक्ष अधिकारीले गुरुङ विद्यार्थी छोंज धींको प्रगतीको कामना गर्नुभयो । एउटा विद्याथी संस्थाले अर्काे बोल्न र सुन्न नसक्ने विद्यार्थीलाई सहयोग गरेको पहिलो अनुभव भएको पनि उहाँले सुनाउनुभयो ।
गुरुङ विद्यार्थीको यो सहयोगले अन्य विद्यार्थी संस्थालाई पनि सिकाई हुने प्रधानध्यापक अधिकारीको भनाई थियो । कार्यक्रममा नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका कार्य समिति सदस्यहरु, बागमती प्रदेश समितिका सदस्य निशान गुरुङ, तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका सदस्य धन बहादुर गुरुङ, तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका अध्यक्ष जमुना तमूस्यो, केन्द्रिय सदस्य सीता तमूस्यो, बागमती प्रदेश समितिका सदस्य कल्पना तमूस्यो, पत्रकारहरुको उपस्थिति रहेको थियो ।
गुरुङ विद्यार्थीहरुले कपि, कलम, पेन्सील, कलर, खेलकूदका सामाग्री फुटबल, स्किपिङ, लुडो लगायतका सामाग्री वितरण गरेका हुन् । यस्तै सोही अवसरमा तमुस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समितिका तर्फबाट विद्यार्थीलाई खाजा सहयोग गर्नुभएको थियो । नेपाल तमू गुरुङ विद्यार्थी छोंज धींको २०५२ साल माघ २६ गते बुटवलमा भएको प्रथम राष्ट्रिय सम्मेलन गर्दै भिम गुरुङको अध्यक्षतामा स्थापना भएको थियो । संस्थाले तमू विद्यार्थीको हक अधिकार संरक्षण तथा विभिन्न सामाजीक सेवाका कार्यहरु गर्दै आईरहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |