धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा सुदर्शन रिजालले उम्मेदवारी घोषणा गर्नुभएको छ । यही पौष २६ र २७ गते हुने संघको ११औं अधिवेशनमा आफुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताउनुभएको हो । धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि उनले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
‘दिन होस् वा रात धादिङ उद्योग वाणिज्य संघ सबै व्यवसायीहरुको साथ’ भन्ने मूल मन्त्रलाई यथार्थमा बदल्न आफुले उम्मेदवारी दिएको उहाँले बताउनुभयो । संघलाई व्यापार, लगानी र उद्यमशीलताको हिसावले नेतृत्वदायी संस्थाको रुपमा स्थापित गर्न आवश्यक छ । ‘आर्थिक अनियमितता नियन्त्रण गरी प्रशासनिक पारदर्शिता कायम गर्ने, सुस्ताएको संघलाई सशक्त र व्यवसायी मैत्री बनाउनेछ’ उहाँले भन्नुभयो– ‘व्यवसायीको हितमा काम गर्नेछु । यो मन्दीको समयमा घर भाडा समस्या समाधान, व्यवसायी नितिहरुको वकालत, साझेदारी विकास, व्यवसायिक जोखिम न्यूनिकरण, उद्यम तथा व्यवसायको प्रवद्र्धन, संघलाई निजि क्षेत्रको एक भरोसा योग्य, सक्षम, गतिशील बनाउन मेरो उम्मेदवारी हो ।’
त्यस्तै, जिल्लाको उद्योग स्थापना हुने सम्भाव्य स्थलहरुलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । ‘राष्ट्रिय गौरवका आयोजनाहरुलाई गति दिन एवम् विकासका अन्य कामका लागि निजि क्षेत्रको भूमिका स्थापित गर्ने छु’ उहाँले भन्नुभयो । तपाईको उम्मेदवारी घोषणामा ढिलाई भएन भन्ने प्रश्नमा रिजाल भन्नुहुन्छ– ‘व्यवसायीहरुको घर आँगनमा पुगेर सबै व्यवसायीहरुको मनोभावना अनुसार उम्मेदवारी घोषणा गरेको हुँ । त्यसैले अलि ढिलाई चाँहि भएके हो । तर मलाई सबै व्यवसायीहरु र राजनितिक दलहरुको सहयोग रहेको छ । यो नै मेरो जित्ने बलियो आधार हो’
त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदका लागि यस अघि रोहित भण्डारीले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |