काठमाडौँ । पछिल्लो समय सेयर बजारमा ब्रोकरले लिने कमिसनप्रति ध्यानाकर्षण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले घटाउन निर्देशन दिएका छन् । पुँजी बजारको विभिन्न सरोकारवाला पक्षलाई मध्यनजर राखी ब्रोकर कमिसन घटाउन अर्थमन्त्री पौडेलले निर्देशन दिएका हुन ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित बैठकमा उनले कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिए । “ब्रोकर कमिसन घटाउनका लागि विलम्ब नगर्नुहोस, प्रो एक्टिभ भएर लाग्न,’’ उनले भने । पुँजीबजार बढ्न र विस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्या समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न उनले निर्देशन दिए ।
साथै पुँजीबजारको विकासका लागि चालू वर्षको बजेटमा उल्लेखित कार्य समयमा नै सम्पन्न गर्न पनि निर्देशन दिँदै उनले ऐन, नियममा सुधार गर्नुपर्ने भए त्यसको तयारी गर्न पनि निर्देशन दिए ।
बैठकमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पुडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतको उपस्थिति थियो ।
पछिल्लो समय ऐतिहासिक उचाइ, उच्च कारोबार रकम, पुँजीकरण, कारोबार सङ्ख्यालगायतका दर्जनौँ रेकर्ड कायम गरेको सेयर बजारमा ब्रोकरले लिने कमिसनको चर्चा पनि चुलिएको छ । ब्रोकरले लिने कमिसन धेरै भयो भन्ने लगानीकर्ताको गुनासो रहँदै आएको छ भने ब्रोकरको पनि आफ्नै तर्क छ । लामो समयदेखि कमिसन घट्नुपर्ने माग राख्दै आएका लगानीकर्ताले धितोपत्र बोर्डले १ कात्तिकदेखि कमिसन घटाउने निर्णय गरे पनि अझै कार्यान्वयन नगरेको गुनासो गर्दै आएका छन् ।
गत कात्तिक २० गते सेयरको अनलाइन कारोबार सुरु भए पनि त्यसले खासै गति समाउन सकेको थिएन । कोरोना कहरमा चैत दोस्रो सातादेखि असार दोस्रो सातासम्म ९८ दिन रोकिएको सेयर लकडाउनकै बीचमा वैशाखमा दुई दिन कारोबार भएको थियो तर त्यसले निरन्तरता पाउन सकेको थिएन । गत चैत १२ गतेदेखि रोकिएको सेयर कारोबार असार १५ बाट मात्रै सुरु भएपछि अधिकांश लगानीकर्ताले भने नियमित रूपमा अनलाइनबाटै सेयर खरिद
बिक्री गरिरहेका छन् ।