काठमाडौँ । अमेरिकाले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । शुक्रबार अमेरिकाको खाद्य तथा औषधि प्रशासन(एफडीए) ले फाइजरको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो ।
समाचार संस्था रोयटर्सका अनुसार केही दिनमा अमेरिकामा कोरोना खोप वितरण सुरु हुनेछ ।यसअघि चिकित्सकहरुको २३ सदस्यीय कार्यदलले एफडीएलाई फाइजर–बायोएनटेकको कोरोना खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिन सुझाव दिएका थिए ।
पहिलो चरणमा स्वास्थ्यकर्मी र जोखिम समूहमा रहेकालाई कोरोना खोप दिइने बताइएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सन्देश जारी गर्दै २४ घण्टाभित्र कोरोना खोप प्रयोगमा आउने बताएका छन् । ९ महिनाभित्रै कोरोना खोप निर्माण हुनु विज्ञानमा चमत्कार भएको उल्लेख गर्दै ट्रम्पले सबै अमेरिकी नागरिक कोरोना खोप निस्शुल्क रुपमा वितरण गरिने बताएका छन् ।
— Donald J. Trump (@realDonaldTrump) December 12, 2020
यसअघि बेलायतले फाइजरको कोरोना खोप प्रयोगमा ल्याइसकेको छ । बहराइन, क्यानडा, साउदी अरबले पनि फाइजरको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेका छन् भने भारतमा आपत्कालीन प्रयोगका लागि कम्पनीले अनुमति मागेको छ ।
बेलायतमा कोरोना खोप प्रयोग सुरु
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा बिहीबार एकैदिन तीन हजार भन्दा बढीको कोरोनाले मृत्यु भएको थियो । एकैदिन कुनै पनि मुलुकमा कोरोनाले यति संख्यामा मृत्यु भएको यो पहिलो पटक हो । अमेरिकामा अहिलेसम्म १ करोड ५८ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै कोरोनादे २ लाख ९४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ६१ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।
चिकित्सकीय परीक्षणमा फाइजरको खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको पाइएको थियो । यो खोप २१ दिनको अन्तरमा दुई डोज दिनुपर्ने बताइएको छ । तर यो खोप माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने भएकाले ओसारपसार र व्यवस्थापनमा चुनौती रहेको स्वास्थ्यविद् बताउँछन् ।